१०१ प्रभावशाली महिला, 100 most influential women

नारी टिम

महिला र पुरुष मानव सृष्टिका आधारभूत सर्त हुन्। जहाँ महिलाका कुरा हुन्छन् त्यहाँ पुरुषलाई कदापि छुटाउन सकिँदैन। त्यसैगरी पुरुषको समाजमा महिलाले पनि उत्तिकै सम्मानित एवं प्रभावशाली जीवनको अपेक्षा गर्नु स्वाभाविक हुन्छ। नेपाली समाजको कुरा गर्ने हो भने महिलाको भूमिका पुरुषको तुलनामा केही संकुचित रहेको यथार्थ कसैसामु लुक्न सकेको छैन। यति हुँदाहुँदै पनि हाम्रो समाजमा त्यस्ता महिलाहरू छन् जसको प्रभावका सामुन्ने सम्पूर्ण समाज नतमस्तक छ। त्यस्ता महिलाहरूको यशोगान गाउन समाजले केही कन्जुस्याइँ गरेको उदाहरण यदाकदा भेटिए पनि यसबाट तिनको उचाइ घटेको छैन बरु बढेकै छ। नेपाली समाजमा निरन्तरको संघर्ष, अथक परिश्रम, सकारात्मक विचार एवं दृढ पाइलाको सहारामा अघि बढेका विशिष्ट महिलाहरूको कुनै कमी छैन। अरूले कुरा काट्दा काट्दै पनि त्यसको परवाह नगरी आफ्नो लक्ष्यतर्फ निरन्तर क्रियाशील रहेर सफलताको शिखर चुम्न सक्षम त्यस्ता महिलाहरूबाट आम नेपाली महिलाले प्रेरणा पाउन सक्छन्।

मानव जीवनसित प्रत्यक्ष एवं अप्रत्यक्ष सरोकार राख्ने सामाजिक, आर्थिक, राजनीतिक, औद्योगिक, कृषिजस्ता हरेक क्षेत्रमा परिवर्तनगामी सोचका साथ छुट्टै छाप छाड्न सफल स्तुत्य नारीहरू ओझेलमा पर्नुहुँदैन। उनीहरूका विषयमा जानकारी राखेर राम्रो कामको अनुकरण गर्ने अवसर सबैले अवसर पाउनुपर्छ। नारीको यो अंकमा त्यस्ता केही नारीका बारेमा जानकारी दिने प्रयास गरिएको छ जसले अहिलेको नेपालमा त्यस्तै प्रभाव राख्छन्। त्यस्ता नारीहरूको छनोट गर्ने काम अवश्य पनि सजिलो थिएन तसर्थ हाम्रो यो छनोट पूर्ण छ भनेर दाबी गर्न सक्ने आधार कम छ ।

यहाँ समावेश हुन नसकेका नामहरू प्रभावशाली वा विशिष्ट छैनन् भन्ने होइन। नारी टिमले यस प्रकारको प्रयासका लागि भरमग्दूर परिश्रम गरेको छ। कान्तिपुर मिडिया ग्रुपका पत्रकारहरू सञ्जीवन महर्जन, अश्विनी कोइराला, यशोदा तिम्सिना, मैना धिताल तथा विजय पौडेलको मतका आधारमा १०१ प्रभावशाली महिलाको चयन गरिएको हो। छनोटका केही सीमाहरू रहँदारहँदै पनि यसलाई सकेसम्म पूर्ण बनाउने प्रयास गरिएको छ। साथै यहाँ नाम राख्दा मर्यादा, तह, वर्णानुक्रम आदि मिलाउने काम भएको छ्रैन तसर्थ सम्बन्धित व्यक्तिहरूलाई आफ्नो नाम जुनसुकै स्थानमा परे पनि अन्यथा नलिन अनुरोध गरिन्छ।

करिश्मा मानन्धर

जन्मस्थान : ललितपुर ,पेसा : अभिनय

नेपाली चलचित्र उद्योगकी सदाबहार नायिका करिश्मा कुशल अभिनेतृ हुन्। उनको नाम नेपाली चलचित्र क्षेत्रमा गरिमाका साथ लिइन्छ। १४ वर्षको उमेरदेखि चलचित्र क्षेत्रमा लागेकी करिश्मा नेपाली चलचित्र क्षेत्रकै गौरव हुन्। उनले नेपाली चलचित्रलाई दिएको योगदान अतुलनीय छ। सुन्दरताका साथमा उनको अभिनयको प्रशंसा धेरैले गरेको पाइन्छ।

माल्भिका सुब्बा

जन्मस्थान : धरान,शिक्षा : स्नातकोत्तर ,पेसा : मोडलिङ, संचार, सेल्स तथा मार्केटिङ।

मिस नेपाल २००२ की विजेता माल्भिका बहुप्रतिभाशाली युवती हुन्। मिस नेपालको ताजका साथमा मिस पर्सनालिटी, मिस बेस्ट हेयर एवं मिस ट्यालेटको उपाधि प्राप्त गर्न सफल सुब्बा हाल विविध क्षेत्रमा क्रियाशील छिन्। मिडिया पर्सनालिटीका रूपमा प्रमुख चिनारी बनाएकी सुब्बाले ‘गड लिभ्स इन द हिमालयज’ चलचित्रमार्फत अभिनय क्षमता उजागर गरेकी छिन्।

आयशा शाक्य

जन्मस्थान : ललितपुर,शिक्षा : स्नातक,पेसा : खेलकुद

आयशा नेपाली खेलकुद क्षेत्रमा परिचित नाम हो। विगत १५ वर्षदेखि यो क्षेत्रमा क्रियाशील आयशाको खेलप्रतिको रूचिले देशलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन ठूलो योगदान दिएको छ। खेलप्रतिको रूचि तथा दक्षतामार्फत सबैको मन जित्न सफल आयशाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वर्ण पदक प्राप्त गरेकी छिन्। खेल क्षेत्रमा उनको योगदान प्रशंसनीय मानिन्छ।

मोमिला

जन्मस्थान : धनकुटा,शिक्षा : स्नातकोत्तर,पेसा : साहित्य

साहित्य लेखनमा समर्पित मोमिला विशेष गरी कविता, निबन्ध तथा समालोचना विधामा सक्रिय छिन्। २०५२ सालमा ‘पैंयुँ फुल्न थालेपछि’ कविता संग्रह प्रकाशित गरी औपचारिक रूपमा साहित्यमा प्रवेश गरेकी मोमिला मानव जीवनलाई कर्मशीलताको पर्याय मान्छिन्। उनी सत्कर्ममा विश्वास गर्छिन्। त्यसैले उनका साहित्यिक रचनामा जीवनका अँध्यारा पक्षलाई हटाएर उज्यालोतर्फ लाग्नुपर्ने धारणा व्यक्त भएको पाइन्छ।

केशरी चौधरी

जन्मस्थान : बाँके,शिक्षा : स्नातक,पेसा : खेलकुद

केशरी क्रिकेटका अतिरिक्त लङ जम्प तथा हाई जम्पकी प्रखर खेलाडी हुन्। उनले राष्ट्रिय खुल्ला ट्रयाक एण्ड फिल्ड च्याम्पियनसीपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। अनुशासनलाई गहना मान्ने चौधरीले खेलकुदका साथै अध्ययनलाई पनि अघि बढाइरहेकी छिन्। विभिन्न पदक प्राप्त गरिसकेकी चौधरीलाई बहुप्रतिभाशाली भन्न सकिन्छ।

नीता घिराइया

जन्मस्थान : काठमाडौं,शिक्षा : एसएलसी,पेसा : समाजसेवा

२०३७ सालदेखि रक्तदान गर्दै आएकी नीताले अहिलेसम्म १ सय १२ पटक रगत दान गरिसकेकी छिन्। रगत दिँदा मानिस कमजोर हुन्छन् भन्ने मान्यतालाई चुनौती दिँदै उनले रगत दिएकी हुन्। रगत दिँदैमा हामी कमजोर अथवा बिरामी हुँदैनौं बरु समयमै रगत नपाउँदा अकालमा मानिसको ज्यान जान सक्छ। यदि आफ्नो शरीरबाट थोरै रगत दिँदा कुनै मानिसले नयाँ जीवन प्राप्त गर्छ भने त्यसमा पछि पर्न नहुने उनको धारणा छ। नीता युवा रत्न पुरस्कार, राष्ट्रिय नारी शक्ति पुरस्कारजस्ता विभिन्न पुरस्कारबाट सम्मानित व्यक्तित्व हुन्।

डा चन्दा कार्की

जन्मस्थान : महोत्तरी,शिक्षा : एमबीबीएस, डिजिओ, एमडी,पेसा : चिकित्सा

विगत २६ वर्षदेखि चिकित्सा पेसामा निरन्तर लागिपरेकी डा चन्दा कार्कीले लाखौं बिरामीको सेवा गरिसकेकी छिन् । महिलालाई हुने सबै किसिमका

रोगको उपचार गरेर बिरामीलाई पुनर्जीवन दिन सफल चन्दा आफ्नो कामबाट सन्तुष्ट छिन् । रोगीको सेवामा अहोरात्र खट्न तयार उनी बिरामी निको हुँदा निकै प्रफुल्ल हुन्छिन् । फुर्सदका समयमा साहित्य रचना गर्न रुचाउने उनले विभिन्न पुस्तक तथा पत्रपत्रिकामा छापिएका लेखमार्फत भावना अभिव्यक्त गरेकी छिन् ।

डा उमा श्रीवास्तव

जन्मस्थान : काठमाडौं ,शिक्षा : एमडी, एमएससी (रेट्रो इन्डो),पेसा : चिकित्सा

नेपालमा आईयुआई प्रविधि भित्र्याउने श्रेय डा उमा श्रीवास्तवलाई जान्छ। उनले धेरै नि:सन्तान दम्पतीलाई सन्तान दिएर खुसीको अवसर जुटाएकी छिन्। त्यसबापत उनले २०५५ सालको युवा वैज्ञानिक पुरस्कार प्राप्त गरिन्। गत वर्षको अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नागरिक समाजबाट नारी सेवा सम्मान प्राप्त गरेकी डा श्रीवास्तवले हालसम्म ४ हजार नि:सन्तान दम्पतीलाई शिशु दिलाइसकेकी छिन्।

डा सुधा त्रिपाठी

जन्मस्थान : दार्जीलिङ ,शिक्षा : पीएचडी ,पेसा : प्राध्यापन तथा साहित्य लेखन

१६ वर्षको उमेरदेखि साहित्यमा हात हालेकी डा त्रिपाठीले अहिलेसम्म एक दर्जन कृति प्रकाशन गरिसकेकी छिन्। निबन्ध, समालोचना, नाटक, कविताजस्ता साहित्यका विविध विषयमा उनको दख्खल छ। त्रिपाठी आफ्नो कृतिमा महिलाका विषय बढी समावेश गर्छिन्। घरको सबै काम गर्ने तथा त्रिभुवन युनिभर्सिटीमा पढाउने काम गरेर पनि साहित्य लेखनलाई निरन्तरता दिन उनले रमाइलो गर्ने तथा आराम गर्ने समय एवं बिदाको दिन कलम चलाउने गरेकी छिन्। साहित्यिक संघसंस्था, राजनीतिक आन्दोलन तथा शिक्षा कार्यमा संलग्न रहेर उनले समाजमा दरिलो उपस्थिति जनाएकी छिन्।

डा पुष्पा चौधरी

जन्मस्थान : भारत,शिक्षा : एमबीबीएस, एमडी, एमआरसीओजी ,पेसा : चिकित्सा

२५ वर्षअघि चिकित्सा पेसामा प्रवेश गरेकी डापुष्पाले नेपालमा पहिलोपटक महिलाको पिसाब चुहिने समस्याको उपचार गर्ने प्रविधि भित्र्याएकी हुन्। यसैगरी पाठेघर खस्ने, आङ खस्ने समस्यालाई पनि उनले आधुनिक शल्यचिकित्साद्वारा उपचार गर्ने गरेकी छिन्। समय-समयमा उनी उपत्यकाबाहिर गएर तालिम प्रदान एवं बिरामीको उपचार गर्छिन्। बिरामीलाई सरल तथा सुलभ रूपमा गुणस्तरीय सेवा दिनुपर्छ भन्ने मान्यता राख्ने डा चौधरी नेपालमा नेसनल युरो गाइनोकोलोजी रिसोर्स सेन्टर खोल्ने योजनामा छिन्।

डा दिव्यश्वरी नेपाल

जन्मस्थान : संखुवासभा,शिक्षा : एमबीबीएस, एमडी,पेसा : चिकित्सा

१९९६ मा एमबीबीएस पूरा गरेर यो पेसामा लागेकी दिव्येश्वरी बिरामीलाई राम्रो वातावरण दिएर उपचार गर्छिन्। उनी बाल रोग विशषज्ञ हुन्। उनी सधैं बालबालिकाको सेवामा तत्पर छिन्। बिरामीलाई रोगमुक्त बनाई नयाँ जीवन दिन पाउँदा उनी हृदयदेखि नै खुसी हुन्छिन्।

डा सुशीला वैद्य

जन्मस्थान : ललितपुर,शिक्षा : एमडी (लेजर थेरापी),पेसा : चिकित्सा

सुशीलाले विवाहपछि श्रीमान्सँग रुस गएर स्त्री क्यान्सर रोग विषयमा एमडी गरेकी हुन्भने रसियाबाटै स्पेशल लेजर थेरापीको कोर्स पनि गरेकी हुन्। ११ वर्षअघि नेपालमा लेजर थेरापीको काम सुरु गरेकी डा सुशीला नेपालकै प्रथम महिला लेजर थेरापिस्ट हुन्। पोलेको, लडेर घाउ भएको, अप्रेसन गर्दा निको नभएको घाउ, नसा च्यापिएको, प्यारालाइसिस भएको, मधुमेहबाट निको नभएको घाउ तथा अन्य दागका लागि लेजर थेरापी उपयुक्त उपचार विधि हो। हालसम्म उनले ६ हजारभन्दा बढी बिरामीलाई लेजर सेवा दिइसकेकी छिन्।

हिसिला यमी

जन्मस्थान : काठमाडौं,शिक्षा : स्नातकोत्तर,पेसा : राजनीति

गणतन्त्र नेपालकी प्रथम पर्यटन मन्त्री हिसिला एकीकृत माओवादीकी हाई प्रोफाइल नेतृ हुन्। भारत तथा बेलायतबाट उच्च शिक्षा लिएकी हिसिला आर्किटेक्ट भए पनि १९७४ देखि -डा बाबुराम भट्टराईलाई भेटेपछि) राजनीतिमा लागेकी हुन्। उनले केही समय पुल्चोक इन्जिनियर कलेजमा पनि पढाएकी थिइन्।

रेखा थापा

जन्मस्थान : मोरङ,पेसा : अभिनय

रेखा चलचित्र क्षेत्रमा आएदेखि नै व्यस्त नायिकाका रूपमा परिचित छिन्। हिरो चलचित्रबाट १६ वर्षकै उमेरमा क्यारियर सुरु गरेकी रेखाले अभिनय गरेका अधिकांश चलचित्र हिट भएका छन् भने उनले निर्माण गरेका चलचित्रहरू पनि अत्यन्तै चलेका छन्। जस्तोसुकै भूमिकामा पनि जम्ने तथा दर्शकलाई आकषिर्त गर्न सक्ने खुबीले उनलाई एक दशकको यात्रामा उत्तिकै उच्च स्थान मिलेको छ। रेखा नायिका तथा निर्मातृ दुवै रूपमा उत्तिकै सफल छिन्।

कुन्ती मोक्तान

जन्मस्थान : दार्जीलिङ,शिक्षा : वीम्युज,पेसा : गायन

चर्चित गायिका कुन्ती मोक्तानले २८ वर्ष संगीतमा खर्चिएकी छिन्। नेपाली संगीतमा गायिकाको गीतले व्यावसायिक सफलता नपाएको समयमा उनी एक मात्र त्यस्ती अपवाद हुन्, जसको कुनै पनि गीत तथा एल्बमले असफलता भोग्नुपरेको छैन। लगातार ८ पटक हिट्स एफएम अवार्ड जितेकी कुन्तीले सयौं अवार्ड पाएकी छिन्। थुप्रै स्कुल तथा कलेजमा पार्ट टाइम संगीत सिकाइरहेकी कुन्ती कम्तीमा ३० देशमा कार्यक्रम लिएर पुगिसकेकी छिन्।

पम्फा भुसाल

जन्मस्थान : अर्घाखाँची,पेसा : राजनीति

पम्फा भुसाल सशक्त नेतृ हुन्। २०३७ सालदेखि पार्टी सदस्य भएर काम गरेकी भुसाल २०३९ मा शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनपछि सशक्त रूपमै पार्टीमा लागिन्। सन् २००७ मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएकी भुसाल २०६५ सालको निर्वाचनमा ललितपुर-३ बाट निर्वाचित भएकी थिइन्। भुसाललाई एकीकृत माओवादीभित्र दृढ धारणा राख्नसक्ने नेतृका रूपमा हेरिन्छ।

रिनासा राई

जन्मस्थान : पाँचथर,शिक्षा : बीबीएस,पेसा : कोरियोग्राफी

६ वर्षअघिदेखि कोरियोग्राफीमा लागेकी रिनासाले म्युजिक भिडियोबाट क्यारियर सुरु गरेकी हुन्। चिया बारीमा, मै ठूली भैछु रे आदि गीतको म्युजिक भिडियो कोरियोग्राफी गरेपछि उनले दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। उनले चलचित्र ‘मेरो एउटा साथी छ’ को कोरियोग्राफीमार्फत राष्ट्रिय पुरस्कार हात पारिन्। उनी हाल चल्तीमा रहेका विवोइङ, हिपहपदेखि भारतीय एवं नेपाली परम्परागत नृत्य सिकाउन अब्बल मानिन्छिन्।

आयुषी शाह

जन्मस्थान : पाल्पा,शिक्षा : स्नातकोत्तर,पेसा : मोडलिङ

१२ वर्षअघि र्‍याम्प मोडलिङबाट करियर सुरु गरेकी आयुषी शाह अहिले पनि त्यही क्षेत्रमा व्यस्त छिन्। मिस्टर एण्ड मिस भ्यालेन्टाइनको टाइटल अवार्ड जितेर मोडलिङमा हात हालेकी आयुषीले ४० भन्दा बढी र्‍याम्प शोमा भाग लिइसकेकी छिन्। गुणस्तरीय र्‍याम्प शोमा मात्र मोडलिङ गर्ने उनी अग्रपंक्तिकी मोडल हुन्। २८ भन्दा बढी म्युजिक भिडियो तथा दर्जनौं विज्ञापनमा काम गरेर लोकपि्रय भएकी आयुषी हाल कोरियोग्राफी एवं इभेन्ट म्यानेजमेन्टमा सक्रिय छिन्।

मेघा चौधरी

जन्मस्थान : काठमाडौं ,शिक्षा : स्नातक ,पेसा : व्यापार

बहुप्रतिभाशाली मेघा आफूलाई विभिन्न क्षेत्रमा उभ्याउन रुचाउँछिन्। मेटल ब्यान्डको भोकलिस्टबाट सुरु भएको उनको यात्रा अहिले नर्भिक अस्पतालको व्यवस्थापकसम्म पुगेको छ। भोलिको नेपाललाई युवाहरूले चलाउनुपर्छ भन्ने चौधरी समाजसेवामा पनि रुचि राख्छिन्।

रमा ढकाल

जन्मस्थान : सुनसरी,शिक्षा : आई ए,पेसा : प्रवचन

रमा ढकाल भागवत पुराण वाचिका हुन्। उनी यो क्षेत्रमा पुरुषको प्रभुत्व तोडेर कुशलतापूर्वक लागेकी छिन्। मधुर स्वरकी धनी रमाको वाचन शैली प्रशंसायोग्य छ। श्रोतालाई मीठो बोलीबाट मन्त्रमुग्ध बनाउन सक्ने ढकालले महिलाहरूले पनि पुराण भन्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी छिन्।

अञ्जु पन्त

जन्मस्थान : काठमाडौं,पेसा : गायन

अञ्जु ४-५ वर्ष यता नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने तथा गायनबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकाको सूचीमा छिन्। उनको ‘न बिर्से तिमीलाई, न पाएँ तिमीलाई’ गीत मोबाइलबाट झन्डै ३० हजार पल्ट डाउनलोड हुनुले पनि उनको लोकपि्रयता प्रमाणित हुन्छ। सानैदेखि भजन मण्डलीमा गीत गाउने पन्त १४ वर्षअघि भजन रेकर्ड गरी औपचारिक रूपमा संगीत क्षेत्रमा लागेकी हुन्। कान्तिपुर, हिट्स एफएम, कालिका एफएम, पोखराको अन्नपूर्ण एफएमदेखि अन्य एफएमहरूका अवार्डमा उनी नै सर्वाेकृष्ट गायिका बनेर छाइरहनुबाट पनि उनको लोकपि्रयता प्रस्ट हुन्छ।

निशा शर्मा

जन्मस्थान : चितवन,पेसा : नाट्यकर्मी

नेपाली नाट्य परम्पराको अँध्यारो युग परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने निशा ५ वर्षको उमेरमै नाट्य संसारमा प्रवेश गरेकी हुन्। उनी गत ३ दशकदेखि निरन्तर रंगमञ्चमै सक्रिय छिन्। श्रीमान्सँगै गुरुकुलको गतिविधि र उत्थानमा लागिपरेकी निशा अन्तर्राष्ट्रिय नाट्य प्रस्तुतिमा पनि जमेकी छिन्। नृत्यमा गोल्ड मेडलिस्ट निशाले थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अवार्ड हात पारिसकेकी छिन्।

सरिता मिश्र

जन्मस्थान : काठमाडौं,शिक्षा : स्नातकोत्तर (तबलावादन),पेसा : संगीत

आठ वर्षदेखि तबला सिकेर बजाउन थालेकी सरिता ३५ वर्षदेखि रेडियो नेपाल तथा नेपाल टेलिभिजनमा तबलावादकका रूपमा कार्यरत छिन्। उनले नेपाली तबलावादनको इतिहासमा प्रथम तबलावादकका रूपमा देश-विदेशमा कार्यक्रम प्रस्तुत गरिसकेकी छिन्। सरिता गुरुकुलमा हुने शास्त्रीय संगीत कार्यक्रम, किराँतेश्वर तथा अन्य धेरै सांगीतिक संस्थासँग आबद्ध छिन्।

आनी छोइङ डोल्मा

जन्मस्थान : काठमाडौं

१३ वर्षको उमेरमा शिवपुरी नागी गुम्बामा आनी बन्न पुगेकी डोल्मा परम्परामा समयानुकूल परिवर्तन ल्याउँदै जानुपर्छ भन्ने मान्यता राख्छिन्। कुरीति हटाउने काममा अग्रसर आनी भगवान् बुद्धका उपदेशलाई मीठो स्वरमा गाउँछिन्। उनी गायनबाट जे-जति कमाउँछिन् त्यो फर्पिङमा आफैंले खोलेको नन वेलफेयर फाउन्डेसन स्कुलका लागि खर्च गर्छिन्। आनीको कठोर जीवन यात्रालाई सहज बनाउन अग्रणी भूमिका खेल्ने छोइङ डोल्माले गाएको ‘फूलको आँखामा फूलै संसार’ गीत अत्यन्त लोकपि्रय छ।

रेणु यादव

जन्मस्थान : सप्तरी ,पेसा : राजनीति

विसं २०६० मा रेणु महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्री हुँदा सबैभन्दा कम उमेरमा मन्त्री हुने महिलाको सूचीमा परेकी थिइन्। रेणु नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ सप्तरीको अध्यक्ष हुँदै राजनीतिमा प्रवेश गरेकी हुन्। विसं २०५० मा राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता लिएकै वर्ष उनी सप्तरी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइन्। उनी अहिले मधेसी जनअधिकार फोरममा अध्यक्ष उपेन्द्र यादवको निकट रहेर काम गरिरहेकी छिन्।

संगीता श्रेष्ठ

जन्मस्थान : मोरङ,शिक्षा : स्नातक,पेसा : सञ्चारकर्मी

टेलिभिजनमा कार्यक्रम प्रस्तोता हुँदै म्युजिक भिडियोको निर्देशनबाट चिनिएकी संगीता अहिले चलचित्र निर्देशनतर्फ अघि बढ्दैछिन्। संगीताले हालसम्म ८० वटा म्युजिक भिडियो निर्देशन गरिसकेकी छिन्। हाल उनी कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘कथा प्रेमका’ शीर्षकमा सर्ट मुभी शृंखलाको निर्देशनमा व्यस्त छिन्।

अञ्जली मास्के

जन्मस्थान : काठमाडौं ,पेसा : समाजसेवा

अञ्जलीले गत १२ वर्षदेखि दिदीबहिनी नहुने स्वदेशी तथा विदेशी दाजुभाइलाई भाइटीका लगाइदिँदै आएकी छिन्। उनी हरेक वर्ष तिहारमा काष्ठमण्डप गोरखनाथ मन्दिरमा सामूहिक भाइटीका लगाउँछिन्। भाइटीकामा उनी जातजाति, धर्म, संस्कृति, धनी, गरिब आदिको भेदभाव गर्दिनन्। भाइटीकामा कतिपयको निधार खाली रहेको देखेर उनले संस्कृति बचाउन यो काम सुुरु गरेकी हुन्। मास्के दाजुभाइबाट कुनै उपहार तथा रकम ग्रहण गर्दिनन्।

मञ्जुश्री थापा

जन्मस्थान : काठमाडौं ,शिक्षा : बीएफए, फोटोग्राफी,पेसा : साहित्य लेखन

मञ्जुश्रीले नेपाली साहित्यलाई विश्वसामु चिनाएकी छिन्। नेपाल, क्यानाडा तथा अमेरिकामा हुर्किएकी थापा सन् १९९२ मा मुस्ताङ भोट इन फ्रागमेन्ट्समार्फत साहित्य संसारमा प्रवेश गरेकी हुन्। आख्यान, गैरआख्यान एवंं अनुवादका क्षेत्रमा हात हालेकी थापाले फरगेट काठमाडौं कृतिका लागि लेटर युलिसेस अवार्ड हात पारेकी छिन्। मार्टिन चौतारी नामक संस्था चलाइरहेकी थापा विभिन्न अंग्रेजी पत्रिकामा स्तम्भकारका रूपमा पनि काम गर्दैछिन्।

दिलशोभा श्रेष्ठ

जन्मस्थान : काठमाडौं,पेसा : समाजसेवा

विसं २०३८ सालदेखि १०-१२ जना शिशु पालेकी दिलशोभाले २०५४ सालदेखि असहाय आमाहरूलाई पनि पालिरहेकी छिन्। पागल भनेर छोडेका, बाटामा फालिएकाहरू नै उनको आमाघरमा छन्। अहिले उनीसँगै खाने, बस्ने ४८ जना छन् भने उनले पालेका ८० जना बालबालिका हुर्किसकेका छन्। अमेरिकामा रहेकी छोरीले पठाएको केही पैसा र आफ्नो पुख्र्यौली रकमबाट उनले आमाघरमा २७ जना वृद्धा पालेकी छिन्। नामजस्तै ठूलो दिल भएकी दिलशोभा बिहान ४ बजेदेखि राति १० बजेसम्म आफ्नो आश्रयमा रहेकाहरूका लागि खाना बनाउने, ख्वाउने तथा हेरविचार गर्ने काममा व्यस्त हुन्छिन्।

सान्द्रा पुन

जन्मस्थान : पोखरा,पेसा : सौन्दर्यकर्मी

नौ वर्षअघि सौन्दर्य जगत्मा छिरेकी सान्द्रा छोटो समयमै ठूलो चर्चा कमाउन सफल सौन्दर्यविद् हुन्। सान्द्राले कोरियाको जेन एकेडेमीमा मेकअप र किममिनसन एकेडेमीबाट स्किन तथा हेयरसम्बन्धी अध्यनन गरेकी हुन्। कोरियामा केही वर्ष काम गरेर नेपाल आएपछि उनले हेयर टि्रटमेन्ट, एक्सटेन्सन, नेल एक्सटेन्सन, पर्मानेन्ट मेकअप, लिप मेकअपदेखि फेसियलजस्ता प्रविधि भित्राएर शृंगारमा नयाँ अवधारणा ल्याएकी छिन्। पुनले नै नेपालमा एक्सटेन्सन, पर्मानेन्ट मेकअप, आइब्रो तथा लिप बनाउने ट्रेन्ड बसालेकी हुन्।

रागिनी उपाध्याय

जन्मस्थान : काठमाडौं ,शिक्षा : स्नातक,पेसा : कलाकारिता

दुई दशकभन्दा बढी कला क्षेत्रमा समर्पित रागिनीले देश-विदेशमा धेरै कला प्रदर्शनी गरिसकेकी छिन्। समाजका कुरीति तथा समस्याहरूलाई क्यानभासमा उतार्न सफल रागिनीका चित्रहरू विदेशमा समेत लोकपि्रय छन्। उनका चित्रहरू विभिन्न अवधारणामा आधारित हुन्छन्। उनी समसामयिक चित्रकार हुन्। उनका चित्रमा यथार्थवादको चित्रण पाइन्छ। आफ्नो काममा निकै कुशल रागिनी सधैं महिलाहरूको हकका पक्षमा हुन्छिन्।

रविना देशराज श्रेष्ठ

जन्मस्थान :ललितपुर,शिक्षा : स्नातकोत्तर,पेसा : बैंकर्स

दुई दशकदेखि बैंकिङ क्षेत्रमा आबद्ध रविनाले आफ्नो बोल्ड व्यक्तित्वका कारण फरक पहिचान बनाएकी छिन्। झुटो बोलेको मन नपराउने रविना हँसिली छिन्। मेघा बैंकमा वरिष्ठ अधिकृत पदमा कार्यरत रविना समाजसेवामा रुचि राख्छिन्। समयानुकूल पहिरनमा सजिने रविना तनमनबाटै सुन्दर हुनुपर्ने कुरामा विश्वास गर्छिन्।

झमककुमारी घिमिरे

जन्मस्थान : धनकुटा,शिक्षा : अनौपचारिक,पेसा : साहित्य लेखन

झमककुमारी डेढ सय वर्षअघिकी प्रख्यात अमेरिकी लेखिका हेलेन केलरजस्तै मस्तिष्क पक्षघातले सताइएकी नेपाली फूल हुन्। ‘जीवन काँढा कि फूल’ कृतिमार्फत निकै चर्चा बटुल्न सफल उनको सिर्जना र शारीरिक अवस्थाबीच लामो दूरी छ। अनौपचारिक अध्ययनकै भरमा उनले जीवन काँढा कि फूलका अतिरिक्त संकल्प, आफ्नै चिता अग्निशिखातिर, मान्छेका योद्धाहरू, अवसानपछिको अवसान, सम्झनाका बाछिटाहरूजस्ता पुस्तक नेपाली साहित्य भण्डारमा थपेकी छिन्। उनले गोडाले लेखेरै नेपाली भाषा-साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याएकी छिन्। उनको हरेक दिन साहित्य सिर्जनामै बित्छ।

तरुनिका महतो

जन्मस्थान : सिरहा ,शिक्षा : स्नातक (बोटनी), डिप्लोमा (फेसन डिजाइन) ,पेसा : फेसन डिजाइनिङ

फेसन डिजाइनिङमा नयाँपन दिनुपर्ने मान्यता राख्ने तरुनिकाले ११ वर्षअघि बुटिक खोलेपछि उच्च वर्गका लागि मात्र बुटिक भन्ने धारणामा परिवर्तन आयो। फेसन सबैका लागि हो भन्ने धारणा विकसित गर्न उनले महत्वपूर्ण भूमिका खेलेकी छिन्। तरुनिकाले सबै वर्गका ग्राहकलाई उनीहरूको शारीरिक बनोट, च्वाइस तथा बजेटअनुसार पहिरन बनाइदिने गरेकी छिन्। विभिन्न फेसन शो तथा चलचित्रका लागि पनि पहिरन बनाउँदै आएकी महतो आफ्नो रुचिको विषय भएकाले यसलाई पछिसम्म निरन्तरता दिने विचारमा छिन्।

सोनी राणा

जन्मस्थान : काठमाडौं ,पेसा : पाइलट

सन् १९८८ मा पाइलटको लाइसेन्स लिएकी सोनी राणा बोइङ तथा जेट उडाउने प्रथम नेपाली महिला हुन्। उनलाई हवाईजहाज चलाउन कुनै डर लागेन। राणा भन्छिन्-हवाईजहाज चलाउन एकाग्रताको आवश्यकता पर्छ।

मेनुका थापा

जन्मस्थान : काभ्रे ,शिक्षा : स्नातकोत्तर,पेसा : समाजसेवा

मसाज, डान्स बार एवं दोहोरी रेस्टुराँमा काम गर्ने युवतीहरूको अधिकार प्राप्ति एवं यौन शोषणमा परेकाहरूको उद्धारमा लागेकी मेनुकाले हालसम्म ३ सयभन्दा बढी महिलालाई यौनजन्य व्यवसायबाट अन्य पेसामा रूपान्तरित गरेकी छिन्। शोषित नारीहरूको पीडा कम गर्न उनी गायिका बन्ने लक्ष्य एकातिर थन्काएर उनीहरूको सेवामा लागिपरिन्। अरूको दु:खलाई आफ्नै दु:ख मान्ने थापाको काम स्तुत्य छ।

हिमानी शाह

जन्मस्थान : काठमाडौं ,पेसा : समाजसेवा

पूर्व युवराज्ञी हिमानी शाह निकै फरासिली तथा हँसिली छिन्। दरबारको सुविधा सम्पन्न जीवन बिताएकी हिमानीले अहिले समाजसेवालाई आफ्नो जीवनको लक्ष्य बनाएकी छिन्। अहिले उनी आफ्नै नामको ट्रस्टमार्फत विभिन्न काम गर्दैछिन्। चाँडै नरिसाउने हिमानीको प्रमुख विशेषता धैर्य हो। हिमानी अहिलेे ट्रस्टमार्फत गाउँ-गाउँसम्म पुगिरहेकी छिन्।

प्रतिष्ठा अमात्य विष्ट

जन्मस्थान : काठमाडौं ,शिक्षा : स्नातक ,पेसा : व्यापार

गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल प्रतिष्ठाले ३ सेकेन्डमा ७५ शब्द सम्झिएकी थिइन्। उनी सानैदेखि नाम सम्झने अभ्यास गर्थिन्। अहिले उनी होटल व्यवसायमा व्यस्त छिन्। कम बोल्ने उनको बानीलाई धेरैले अहंको संज्ञा दिए पनि उनी घमण्डी भने छैनन्।

विद्या भण्डारी

जन्मस्थान : भोजपुर ,शिक्षा : स्नातक,पेसा : राजनीति

दई पटक मन्त्री भैसकेकी विद्या एमालेकी शालीन, धैर्यशील एवं शान्तिपि्रय राजनीतिज्ञ हुन्। वैचारिक प्रखरताले गर्दा पार्टीमा उनको फरक स्थान छ। जीवनमा अनेकौं आरोह-अवरोह खेपेकी भण्डारीको पार्टीका हरेक काम-कारबाहीमा प्रभावकारी भूमिका छ। रक्षामन्त्री हुँदा उनले निर्वाह गरेको भूमिका तथा उनको निर्णय शक्तिको धेरैले प्रशंसा गरेका थिए।

हजुरी विष्ट

जन्मस्थान : काठमाडौं ,शिक्षा : प्रमाणपत्र तह,पेसा : व्यापार

अहिले नवरस ब्रान्ड हरेक नेपालीको जिब्रोमा झुन्डिएको छ। विदेशमा पनि यसको निकै माग छ। अचार बनाउने हरेक प्रक्रिया आफैले अवलोकन गर्ने विष्ट सामान खरिद गर्न पनि आफैं बजार पुग्छिन्। गुणस्तरमा कटिबद्ध विष्ट सधैं राम्रा सामग्री उत्पादन गर्न प्रेरित हुन्छिन्। उनको अथक परिश्रमले अहिले उनका ४९ थरीका अचार बजारमा लोकपि्रय छन्। हाल विन को-ओपरेटिभमा आबद्ध विष्टले विभिन्न सम्मान तथा अवार्ड हात पारेकी छिन्।

सुप्रभा घिमिरे

जन्मस्थान : काठमाडौं ,पेसा : राजनीति

शालीन व्यक्तित्वकी धनी सुप्रभा घिमिरेले आफ्नो आधा जीवन शिक्षण पेसामा बिताइन्। प्राध्यापक संघको अध्यक्षमा निर्वाचित भएर काम गरिसकेकी घिमिरे काठमाडौं क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य निर्वाचित भएकी हुन्। उनले विभिन्न संघसंस्थामा आबद्ध भएर धेरै अनुभव बटुलिसकेकी छिन्। शिक्षाले मानिसको चेतनाको स्तर बढाउने भएकाले नेपाली नारीको स्तर वृद्धि गर्न महिला शिक्षामा विशेष जोड दिनुपर्ने उनको मान्यता छ।

दुर्गा घिमिरे

जन्मस्थान : मोरङ ,शिक्षा : स्नातक ,पेसा : समाजसेवा

तीन दशकदेखि महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत दुर्गा घिमिरे कलेज जीवनमै राजनीतिमा प्रवेश गरी राजकाजको मुद्दामा तीन पटक जेल परिन्। समाजसेवालाई आफ्नो लक्ष्य बनाएकी घिमिरे सामाजिक क्षेत्रमा काम गर्दा धेरै दु:खको अनुभव भए पनि महिलाहरूको उद्धारबाट सन्तुष्टि मिल्ने बताउँछिन्।

प्रमदा शाह

जन्मस्थान : काठमाडौं ,शिक्षा : आइए ,पेसा : समाजसेवा

प्रमदा कोमल स्वभावकी छिन् तर उनको हिम्मत भने अदम्य छ। नेपालका धेरै गाउँमा पाइला टेकिसकेकी प्रमदा नारी हक-हित तथा जनावरको अधिकार संरक्षणका लागि लडिरहेकी छिन्। साथी संस्थाकी अध्यक्ष शाह महिला चेतना वृद्धिका लागि पुरुष मानसिकतामा परिवर्तन हुनुपर्ने बताउँछिन्। उनी गलत कुरालाई गलत भन्न डराउँदिनन्। यही स्वभावले उनलाई समाजसेवाको क्षेत्रमा विशिष्ट चिनारी दिएको छ।

डा सुधा शर्मा

जन्मस्थान : काठमाडौं ,शिक्षा : एमबीबीबीएस, एमडी ,पेसा : चिकित्सा

सुधा सफल चिकित्सक हुँदै नेपाल मेडिकल काउन्सिलकी प्रथम महिला अध्यक्ष बनिन्। प्रसूति गृहकी पूर्व अध्यक्ष सुधा शर्माको नेपाल मोह प्रशंसालायक छ। गहनताले भरिएकी सुधाले नेपालीको स्वास्थ्य स्तर उकास्नुलाई आफ्नो जीवनको लक्ष्य बनाएकी छिन्। काम गर्ने शैली नै उनको सफलताको सूत्र हो।

आरजु देउवा

जन्मस्थान : ललितपुर ,शिक्षा : विद्यावारिधि ,पेसा : राजनीति तथा समाजसेवा

समाजसेवाबाट सुरु भएको उनको यात्रा अहिले संसद् भवनसम्म पुगेको छ। उनको परिश्रमले उनलाई यो भन्दा अझै माथि लाने कुरामा दुईमत छैन। आकर्षक व्यक्तित्व तथा दृढ इच्छाशक्तिकी धनी आरजु आफ्ना सबै समस्या पन्छाएर काममा व्यस्त हुन्छिन्। महिलाहरूका हक-हितमा समर्पित आरजु संसद्मा पनि महिला मुद्दामा बढी केन्दि्रत छिन्। उनी व्यक्तिगतभन्दा सामाजिक सरोकारका विषयमा बढी चासो राख्छिन्।

माधुरी कार्की

जन्मस्थान : काठमाडौं ,शिक्षा : स्नातकोत्तर ,पेसा : नोकरी

दृढ इच्छाशक्तिका कारण सफलता प्राप्त हुन्छ भन्ने पाठ माधुरीको जीवनबाट सिक्न सकिन्छ। नेपालकै प्रथम जिल्ला वन अधिकृत माधुरीको निर्णय गर्ने शक्ति तथा फरासिलोपनले सबैलाई काम गर्न सहज बनाउँछ। सामूहिक कार्यमा विश्वास राख्ने कार्कीले भक्तपुरमा रहँदा सशक्त ढंगबाट आफ्नो जिम्मेवारी बहन गरेकी थिइन्। आज पनि उनको काम गर्ने शैली उस्तै छ। आफूलाई समयसँगै अपटुडेट गर्ने माधुरी कहिल्यै कामबाट पछि हट्दिनन्।

सुजाता कोइराला

जन्मस्थान : मोरङ ,शिक्षा : स्नातकोत्तर ,पेसा : राजनीति

फराकिलो विचारकी सुजाताले १८ वर्षअघि कांग्रेसको पार्टी सदस्यता लिएकी हुन् समाजसेवाबाट राजनीतितर्फ मोडिएकी कोइराला राजनीतिलाई पनि एकप्रकारको समाजसेवा मान्छिन्। दृढ इच्छाशक्तिकी धनी कोइराला निडर भएर निर्णय लिन्छिन्।

कमला श्रेष्ठ

जन्मस्थान : सुनसरी ,शिक्षा : स्नातक ,पेसा : सौन्दर्यकर्मी

धैर्य तथा परिश्रमको फल ढिलै भए पनि चाख्न पाइन्छ भन्ने उक्ति कमला श्रेष्ठमा लागू हुन्छ। २७ वर्ष सौन्दर्य क्षेत्रमा बिताएकी श्रेष्ठ अहिले उद्योग वाणिज्य महासंघको कार्य समिति सदस्यमा निर्वाचित भएकी छिन्। एउटै विधामा आफूलाई रुखझैं उभ्याएर हजारौं विद्यार्थीलाई शिक्षा दिएकी कमलाले जीवनमा आएका हरेक परिस्थितिलाई सामान्य मानी आफ्नो कर्म गर्न छाडिनन्। उनको सफलताको रहस्य फरासिलोपन तथा नेतृत्व गर्न सक्ने क्षमता हो।

ज्योति तुलाधर

जन्मस्थान : काठमाडौं

ज्योति नेपाली श्रमिक आन्दोलनकी अगुवा हुन् । उनी आइएलओ जेनेभा मुख्यालयमा उच्च पदमा पुग्ने प्रथम नेपाली महिला पनि हुन् । उनले नेपाली श्रमिकका हक-अधिकारका निम्ति महत्त्वपूर्ण योगदान दिएकी छिन् ।

नैनकला थापा

जन्मस्थान : रूपन्देही,पेसा : राजनीति

राष्ट्रिय महिला आयोगकी अध्यक्ष नैनकला राजनीतिमा आउनुअघि शिक्षण पेसामा आबद्ध थिइन्। त्यतिबेला चितवन जिल्ला शिक्षा कार्यालयबाट उत्कृष्ट शिक्षिकाको अवार्ड प्राप्त गरेकी थापा जुनसुकै काममा लागे पनि त्यसप्रति प्रतिबद्ध हुनुपर्ने कुरामा विश्वास राख्छिन्। एनेकपा माओवादी पार्टीमा आबद्ध उनले विभिन्न समयमा विभिन्न पदमा रहेर पार्टीको जिम्मेवारी सम्हालेकी थिइन्।

अमुदा श्रेष्ठ

जन्मस्थान : काठमाडांै ,शिक्षा : स्नातकोत्तर,पेसा : प्राध्यापन

अमुदाले कुनै पनि पेसामा विविधता दिन सकिन्छ भन्ने कुराको पुष्टि गरेेकी छिन्। शिक्षण पेसाबाट करियर सुरु गरेकी श्रेष्ठले यसैमार्फत विशिष्ट पहिचान बनाइन्। केही समय शंकरदेव क्याम्पसको प्रमुख भएर काम गरेकी अमुदा स्नातकोत्तर तहमा स्वर्ण पदक प्राप्त गर्ने प्रथम नेपाली महिला हुन्। प्रखर लेखक, प्रशिक्षक तथा शोधकर्ताका रूपमा चिनारी बनाउन सफल श्रेष्ठ थुप्रै संघसंस्थासँग आबद्ध छिन्। परिश्रमी तथा लगनशील श्रेष्ठ महिला आयोगमा पनि आबद्ध छिन्।

अप्सरा चापागाईं

जन्मस्थान : काभ्रे, शिक्षा : स्नातक, पेसा : समाजसेवा

अप्सरा वन-जंगलका विषयमा जानकारी राख्ने नेपालकै विशिष्ट महिला हुन्। उनी नेपालका धेरैजसो जंगल घुमेकी छिन्। उनी फेकोफनकी अध्यक्ष पनि हुन्। वन क्षेत्रमा काम गरेको २० वर्ष अवधिमा अनेकौं दु:ख सहेकी अप्सरामा आज पनि पहिलेको जस्तै जोस देख्न सकिन्छ। समाजमा नयाँ क्षेत्रमा लागेका महिलाको कुरा काट्नेहरूको बाहुल्य भएको अवस्थामा पनि आफ्नो काममा निरन्तर जुटेकी अप्सरा आम नेपाली महिलाका लागि प्रेरणास्रोत हुन्।

स्नेहा राणा

जन्मस्थान : भारत ,शिक्षा : स्नातक ,पेसा : सौन्दर्यकर्मी

प्रभावशाली व्यक्तित्वकी धनी स्नेहाले नेपालमा मेकअप गर्ने शैलीमा निकै परिवर्तन ल्याएकी छिन्। विभिन्न कार्यक्रममा आफ्नो मेकअपको जादु प्रस्तुत गरिसकेकी स्नेहा बहुप्रतिभाकी धनी हुन्। उनले विभिन्न म्युजिक भिडियो तथा विज्ञापनमा पनि राम्रो छाप छोडेकी छिन्। सबैसित राम्रो व्यवहार गर्ने राणा हँसिली तथा फरासिली छिन्। सौन्दर्यकी प्रतिमूर्ति स्नेहाको परिश्रम तथा प्रयास गर्ने कला विशिष्ट छ।

मिरा ढुंगाना

जन्मस्थान : मकवानपुर,शिक्षा : एलएलबी ,पेसा : वकालत

मिरा कानुनी क्षेत्रमा नयाँ नजिर स्थापना गर्न सफल छिन्। आफ्नो घरबाट वकालत सुरु गरेकी ढुंगानाले छोरीका लागि अंश मुद्दाको नजिर स्थापित गरिन्। शालीन तथा कम बोल्ने मिराको कार्य शैली निकै प्रभावकारी छ। कम बोल्ने तथा काममा कटिबद्ध हुने मिरा अधिकांश समय वकालतमा व्यस्त हुन्छिन्। धैर्य तथा मिलनसार आदि गुणले गर्दा यो क्षेत्रमा उनी सबैका माझ लोकपि्रय छिन्।

अञ्जु केसी

जन्मस्थान : काठमाडौं ,शिक्षा : स्नातकोत्तर ,पेसा : समाजसेवा

अञ्जु महिलाहरूको स्वास्थ्य तथा शिक्षाका लागि काम गर्ने संस्था ‘आमा मिलन केन्द्र’ की अध्यक्ष हुन्। महिलाहरूकै लागि मात्र केन्दि्रत नेपालकै पहिलो यो संस्थाले अहिले विभिन्न स्थानमा काम गरिरहेको छ। अञ्जुले उक्त संस्थामार्फत नेपालका विभिन्न गाउँ घुमेर त्यहाँ महिलाहरूको स्वास्थ्य तथा शिक्षाको सुुधारका लागि गहकिलो योगदान पुर्‍याएकी छिन्। नेतृत्व क्षमता भएकी, कम रिसाउने तथा कर्ममा विश्वास गर्ने अञ्जुको काम प्रशंसनीय छ।

पुष्पा भुसाल

जन्मस्थान : अर्घाखाँची,शिक्षा : स्नातकोत्तर,पेसा : राजनीति एवं समाजसेवा

नेपाली कांग्रेसका वरिष्ठ नेता काशीनाथ गौतमकी सुपुत्री पुष्पा भुसाल बुवाकै कारण बाल्यकालदेखि नै राजनीतिमा प्रवेश गरेकी हुन्। २०६५ सालको निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईबाट नेपाली कांग्रेसका तर्फबाट सभासद बनेकी भुसाल सफल राजनीतिज्ञ, कानुन व्यवसायीका साथै समाजसेवीका रूपमा पनि परिचित छिन्। लामो समय शिक्षण पेसामा संलग्न भुसालले महिला हकहितका लागि विभिन्न संघ-संस्थामा आबद्ध भएर काम गर्दै छिन्।

पवित्र लिम्बू

शिक्षा : स्नातकोत्तर ,पेसा : शिक्षण

शिक्षा क्षेत्रमा पवित्रको नाम नलिने हो भने त्यो क्षेत्र अपूरो हुन्छ। नेपालमा बालशिक्षामा क्रान्ति ल्याउने पवित्रले शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेकी छिन्। उनले आम अभिभावकहरूलाई मन्टेश्वरी अवधारणा बुझाएर नेपालको पूर्वप्राथमिक शिक्षामा नयाँ आयाम थपेकी छिन्। पिसकोरबाट आफ्नो कार्य सुरु गरेकी पवित्र अहिले पि्रमियर इन्टरनेसनल स्कुल स्थापना गरेर विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा लागिपरेकी छिन्। दृढ इच्छाशक्ति तथा इमान्दारिता उनको सबैभन्दा ठूलो गुण हो।

भुवन ढुंगाना

जन्मस्थान : मोरङ ,शिक्षा : स्नातकोत्तर ,पेसा : साहित्य लेखन

निरन्तर प्रयास गर्ने तथा हतोत्साही नहुने, क्षमतालाई जीवनको मूलमन्त्र मान्ने भुवन ढुंगाना महिलाहरू आत्मविश्वासका साथ आफ्नो क्षेत्रमा अग्रसर हुनुपर्ने बताउँछिन्। विभिन्न पुरस्कारबाट सम्मानित उनी आज पनि लेखनमा उत्तिकै अग्रसर छिन्। उनी आफ्ना रचनामार्फत केही नौलोपन तथा समाजमा चेतना दिन प्रयासरत छिन्।

वर्षा श्रेष्ठ

जन्मस्थान : सुनसरी,शिक्षा : स्नातकोत्तर,पेसा : बैंकर्स

बैंकिङ क्षेत्रमा २७ वर्ष लामो अनुभव बटुलेकी वर्षा श्रेष्ठ हाल क्लिन इनर्जी डेभलपमेन्ट बैंकमा मेनेजर छिन्। मेडिसिन पढेर पनि बैंकिङ क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठले अन्तत: यही क्षेत्रमा राम्रो पकड जमाइन्। फलस्वरूप उनले मेनेजर अफ द इयर-२०६७, एक्सेप्सनल मेनेजर्स अवार्ड-२०६७ तथा नेसनल वुमन अवार्ड-२०६६ प्राप्त गरिन्। वर्षा ‘वी फर वुमन’ की भ्वाइस प्रेसिडेन्ट पनि हुन्।

चरिमाया तामाङ

जन्मस्थान : सिन्धुपाल्चोक,पेसा : समाजसेवा

चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि क्रियाशील चरिमाया अमेरिकी सम्मान प्राप्त गरेपछि एकाएक चर्चामा आइन्। आफैंले समेत नारकीय अनुभव बटुलिसकेकी तामाङ शक्ति समूहमार्फत चेलीबेटी बेचबिखनविरुद्ध क्रियाशील छिन्। जस्तोसुकै अवस्थामा पनि हरेस नखाई काम गर्ने उनको साहसपूर्ण जीवन हरेक नेपालीका लागि प्रेरणाप्रद छ।

भवानी राणा

जन्मस्थान : ललितपुर,पेसा : व्यापार

कुनै पनि काममा लागेपछि त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने भवानीमा धेरै काम एकै पटक गर्न सक्ने क्षमता छ। नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष राणाले प्राप्त गरेको सफलता सम्पूर्ण महिला जगत्का लागि गर्व गर्न लायक छ। प्रभावशाली व्यक्तित्वकी धनी भवानी विभिन्न संघ-संस्थासँग आबद्ध छिन्।

कोमल वली

जन्मस्थान : दाङ,शिक्षा : स्नातकोत्तर,पेसा : गायन

 

ँमलमल किरी जुनकिरी’ को गीतबाट नेपाली सांगीतिक दुनियाँमा तहल्का मच्चाएकी कोमलले गायन क्षेत्रमा अझ विशेष गरी लोकगीतमा उल्लेख्य स्थान ओगटेकी छिन्। उनी गायनका अतिरिक्त रेडियोमा उद्घोषण पनि गर्छिन्। संगीतको माध्यमबाट श्रोताको मन जित्न सफल कोमल नारायगोपाल युवा पुरस्कार, कोइलीदेवी पुरस्कार, गोरखा दक्षिण बाहु आदिबाट सम्मानित भैसकेकी छिन्।

माया शेर्पा

जन्मस्थान : ओखलढुङ्गा,पेसा : हिमाल आरोहण

सन् २००३ मा पहिलो ६ हजार ८ सय मिटर अग्लो आमादब्लम हिमाल चढेर आरोहण सुरु गरेकी मायाले त्यसपछि ७ हजार, ८ हजारका अन्य हिमाल हुँदै सन् २००६ मा पहिलो पटक सगरमाथा चढेकी हुन्। लगत्तै अर्काे वर्ष उनले तिब्बततर्फबाट सगरमाथा चढिन्। उनी सगरमाथा आरोहण गर्ने १०-१२ जना नेपाली महिलामध्ये सगरमाथाका साथमा अन्य धेरै हिमाल चढ्ने महिलाका रूपमा सुपरिचित छिन्।

चाँदनी जोशी

जन्मस्थान : पाल्पा ,शिक्षा : स्नातकोत्तर ,पेसा : लैंगिक विशेषज्ञ

चाँदनी महिला सशक्तिकरणकी योद्धा तथा युनिफेम क्षेत्रीय कार्यालयकी पूर्व निर्देशक हुन्। हाल उनी सार्क जेन्डरबेस इन्फरमेसन बेस साउथ एसिया, इन्फोर्सर एण्ड बोर्ड अफ डाइरेक्टर होमनेट साउथ एसिया, साप इन्टरनेसनल, स्किलसेयर इन्टरनेसनललगायतका राष्ट्रिय-अन्तर्राष्ट्रिय संघ-संस्थामा आबद्ध रही महिला सशक्तिकरण, शिक्षा तथा सीप विकास आदि कार्यमा अनवरत योगदान दिँदै छिन्। ९ वर्ष पद्मकन्या क्याम्पसमा अध्यापन, २६ वर्ष सरकारी सेवा -जागिरे), पाकिस्तान, भारत तथा न्यूयोर्क अमेरिकामा गरी १८ वर्ष संयुक्त राष्ट्र संघअन्तर्गत युनिफेमको उच्च पदमा रहन सफल जोशीले सन् १९८० को दशकमा नेपालका ५ जिल्लाबाट सुरु गरेकी महिला पेवा बढाउने कार्यक्रम हाल पचहत्तरै जिल्लामा सञ्चालित छ।

रीता खनाल

जन्मस्थान : हेटौंडा,शिक्षा : स्नातकोत्तर ,पेसा : राजनीति

नेपाल टे्रड युनियन कांग्रेस स्वतन्त्रकी उपाध्यक्ष रीता खनाल महिला हकहितका लागि अगाडि बढ्ने महिला हुन्। मूलधारको राजनीतिमा समेत सक्रिय खनालले गृहिणी शिक्षामार्फत महिला शिक्षामा समेत अग्रणी भूमिका निर्वाह गरेकी छिन्। उनले श्रमिक महिलाका लागि समान कामको समान ज्याला, मर्यादित काम, यौन दुरुत्साहन तथा नयाँ बन्ने संविधान श्रमिकमुखी हुनुपर्नेमा जोड दिँदै आएकी छिन्।

सरस्वती चौधरी

जन्मस्थान : सप्तरी ,शिक्षा : एसएलसी ,पेसा : समाजसेवा

पिछडिएको थारू समुदायबाट महिला आन्दोलनमा होमिने सरस्वतीको साहस प्रशंसायोग्य छ। उनले थारू महिलाहरूको जीवनस्तर उकास्न धेरै काम गरेकी छिन्। सामान्य लेखपढ गरेकी चौधरी आफूलाई लागेको कुरा भन्न तथा सिक्न लाज मान्दिनन्। काम गरेर सफल हुने उद्देश्यका साथ अघि बढेकी सरस्वतीले अहिले धेरै थारू महिलालाई चेतनशील बनाइसकेकी छिन्।

निशा राणा

जन्मस्थान : काठमाडौं,शिक्षा : स्नातकोत्तर ,पेसा : वैज्ञानिक

पुरुषको वर्चश्व रहेको क्षेत्रमा काँधमा काँध मिलाएर काम गरिरहेकी निशाले आफ्नो अध्ययन पुनाबाट पूरा गरेकी हुन्। महिला क्षमतालाई पुष्टि गरिसकेकी राणा अध्ययनलाई प्राथमिकता दिन्छिन्। समूहमा काम गर्न मन पराउने राणा सफलताको श्रेय पनि समूहका सबैले पाउनुपर्ने बताउँछिन्। धैर्य तथा काममा केन्दि्रत रहन सक्ने गुणका कारण उनी उच्च ओहदामा पुग्न सफल छिन्।

अनुराधा कोइराला

जन्मस्थान : ओखलढुंगा ,शिक्षा : स्नातकोत्तर ,पेसा : समाजसेवा

समाज सेवाबाट आफू तथा आफ्नो देशलाई विश्वभर चिनाउन सफल अनुराधा कोइराला नि:स्वार्थ सेवाकी प्रतिमूर्ति हुन्। आफनो जीवनलाई समाजसेवामा समर्पण गरेकी कोइराला सबै दु:खी तथा यातनापीडित महिलाकी माइती हुन्। आफ्नो जीवनमा आइपरेका हरेक परिस्थितिलाई आफूभित्रै समाहित गर्दै उनी अरूको आँसु पुछ्दै अघि बढिन्। अरूको दु:ख देख्न नसक्ने तथा रमाइलो गर्न मन पराउने अनुराधा कहिल्यै हरेस खाँदिनन्।

मिनल्मा पाण्डे

जन्मस्थान : काठमाडौं ,शिक्षा : एमबीबीएस, एमडी,पेसा : चिकित्सा

प्रभावशाली व्यक्तित्वकी धनी मिनल्मा पाण्डे नर्भिक अस्पतालमा निर्देशकका रूपमा कार्यरत छिन्। जस्तोसुकै परिस्थितिमा पनि धैर्य कायम गर्न सक्ने पाण्डे नेपालकै प्रथम महिला मुटु रोग विशेषज्ञ हुन्। चौबीसै घन्टा उपचारमा कटिबद्ध पाण्डे कुनै पनि समयमा रोगीको उपचार गर्न चुक्दिनन्। विभिन्न सम्मान पाइसकेकी मिलल्मा जस्तोसुकै कठिन परिस्थितिमा पनि रोगीहरूलाई हौसला प्रदान गरेर उपचार गर्छिन्।

मनीषा कोइराला

जन्मस्थान : काठमाडौं ,शिक्षा : स्नातक ,पेसा : अभिनय

नेपाली चेली भएर बलिउडमा आफूलाई स्थापित गराउन सफल मनीषा कोइरालाले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन्। राजनीतिक परिवारमा जन्मिए पनि उनले आफूलाई फरक धारमा उभ्याइन्। चलचित्रमा निकै चञ्चल देखिने कोइराला वास्तविक जीवनमा निकै शालीन तथा शान्त छिन्। उनको परिश्रम तथा प्रभावशाली व्यक्तित्वका कारण कुनै समय उनी बलिउडकी नम्बर वान नायिका पनि भइन्। हिजोआज उनी चित्रकला तथा घरगृहस्थीमा व्यस्त छिन्।

किरण बज्राचार्य

जन्मस्थान : पाल्पा,शिक्षा : स्नातकोत्तर,पेसा : प्रहरी सेवा

किरण विगत १६ वर्षदेखि नेपाल प्रहरीमा कार्यरत छिन्। खेलकुदप्रेमी किरण समाज सेवा तथा चुनौतीपूर्ण काममा रुचि राख्ने भएकीले उनलाई यो क्षेत्रले लोभ्याएको थियो। उनले महिला तथा बालबालिकाको क्षेत्रमा दिएको योगदान अतुलनीय छ। उनी आफ्नो जीवनलाई जोखिममा पारेर भए पनि घरेलु हिंसा तथा महिला बेचबिखन विरोधी अभियान एवं बालबालिकाको विकासजस्ता कार्यमा क्रियाशील छिन्।

सरु जोशी श्रेष्ठ

जन्मस्थान : सुनसरी ,शिक्षा : स्नातकोत्तर ,पेसा : जेन्डर एक्सपर्ट

वैदेशिक रोजगारसम्बन्धी महिला मुद्दालाई उठान गर्ने सरु समानताकी पक्षधर हुन् । नेपाल सरकारको सेवामा उप-निर्देशक भै समाज कल्याण परिषद्, महिला मन्त्रालय, युएनडीपी हुँदै जोशी बितेका १० वर्षदेखि युनिफेम हाल युएन वुमनमा कार्यरत छिन् । उनी समानता र सकारात्मक सोचका कुरालाई सरल भाषामा प्रस्तुत गर्न सक्ने सशक्त लेखिका पनि हुन् ।

रत्ना बस्नेत

जन्मस्थान : अछाम,शिक्षा : स्नातक,पेसा : समाजसेवा

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष रत्ना बस्नेत समाजसेवा एवं रचनात्मक कार्यमा अग्रसर छिन्। सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई स्वरोजगारमूलक, आयमूलक तथा सीपविकास प्रशिक्षण प्रदान गर्न होस् वा दु:खी नागरिकको सेवामा संघको सक्रियता बढाउन उनको सक्रिय भूमिका छ। संस्थाको अध्यक्षका रूपमा बस्नेत पिछडिएका जातजाति, मधेसी, दलित, चेपाङ तथा सीमान्तकृत समुदायका बालबालिकाहरूको हकहितमा समर्पित छिन्।

डा मीनासिंह खड्का

जन्मस्थान : मोरङ ,शिक्षा : विद्यावारिधि ,पेसा : प्राध्यापन तथा समाजसेवा

मीना अब्बल दर्जाकी शिक्षाविद् हुन्। लामो समयदेखि जापान, अमेरिका, अफ्रिका आदि राष्ट्रमा नेपाली संस्कृति, मानवशास्त्र आदि विषयमा अध्यापन गराइरहेकी खड्काले मदर टेरेसासँग ११ वर्ष बिताएकी थिइन्। उनकै प्रभावले समाजसेवामा लागेकी मीनाले थुप्रै सामाजिक योगदान गरेकी छिन्।

संगीता राना प्रधान

जन्मस्थान : मोरङ,अध्ययन : स्नातकोत्तर,पेसा : संगीत

संगीता राणाले ६ वर्षकै उमेरदेखि भारतको कोलकातामा गुरुसँग गायन र संगीत सिकेकी हुन्। उनले रेडियो खर्साङबाट भ्वाइस टेस्ट उत्तीर्ण गरेर दर्जनौं गीत रेकर्ड गराइन्। संगीताले १९८३ मा कोलकाताबाट गीत, गजल र भजनको एल्बम बजारमा ल्याएकी थिइन्। भारतीय संगीत क्षेत्रमा करियर बनाइरहेकी संगीतालेे भुमरी चलचित्रको गीत गाउँदै नेपाल्ाी संगीतमा प्रवेश गरिन्। त्यसैताका उनले ललितकला क्याम्पसमा प्राध्यापकका रूपमा काम गर्ने अवसर पाइन्। रेडियोमा सयौं गीत रेकर्ड गराएकी संगीता हजारौं विद्यार्थीलाई संगीतको सारेगम सिकाइरहेकी छिन्। पचासौं चलचित्रमा स्वर दिइसकेकी संगीता षड्ज कला केन्द्रकी पि्रन्सिपल पनि हुन्।

सुशीला कार्की सुवेदी

जन्मस्थान : मोरङ,अध्ययन : एमए, बी एल,पेसा : न्यायकर्मी

अदम्य साहस एवं तार्किक क्षमता सुशीला कार्कीका सबैभन्दा ठूला विशेषता हुन्। न्यायाधीश भएर निर्णय गर्ने कुरा चानचुने होइन। कहिलेकाहीँ निर्णय गर्दा निकै कठिन स्थिति पनि आउँछ। पुरुषहरूको वर्चश्व रहेको न्याय क्षेत्रमा न्यायाधीश भएर आफ्नो जिम्मेवारी बहन गर्न सक्नु आफैमा उदाहरणीय कार्य हो।

सपना मल्ल प्रधान

जन्मस्थान : नवलपरासी,शिक्षा : एलएलएम,पेसा : वकालत तथा अधिकारकर्मी

लामो समयदेखि न्याय क्षेत्रमा कार्यरत सपना हाल नेकपा एमालेका तर्फबाट सभासद हुन्। उनी नेपाली महिलाका न्यायिक अधिकारको लडाइँमा सफल भएबापत अन्तर्राष्ट्रिय ग्रुबर अवार्डबाट सम्मानित भएकी छिन्। वैवाहिक बलात्कार, महिलाको सम्पत्तिमाथि अधिकार, आमाको नामबाट नागरिकताजस्ता आधा दर्जनभन्दा बढी मुद्दा उठाएर कानुनी अधिकार स्थापित गराउने कार्यमा निरन्तर लागिपरेकी सपना अब्बल कानुनविद् हुन्।

नेरी थापा

जन्मस्थान : बाँके ,शिक्षा : स्नातक ,पेसा : खेलकुद

नेरी नेपाली महिला क्रिकेटकी उपलब्धिपूर्ण खोज हुन् । महिला क्रिकेट टिममा कप्तानको जिम्मेवारी निर्वाह गरेर नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय पदक दिलाउन सफल नेरीमा सबल नेतृत्व क्षमता छ। कुनै पनि कार्य सुरु गरेपछि निरन्तर लागिरहने बानीले गर्दा उनले सफलता चुमेकी हुन्।

सरिता ज्ञवाली

जन्मस्थान : मकवानपुर,शिक्षा : स्नातकोत्तर,पेसा : वातावरण संरक्षण

सरिता वातावरण संरक्षणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सफल महिला हुन्। उनी महेन्द्र प्रकृति संरक्षण कोषअन्तर्गतको सदर चिडियाखाना जावलाखेलकी प्रथम महिला व्यवस्थापक हुन्। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र ठाकुरद्वारामा काम गर्दा त्यहाँका महिलाहरूलाई प्रकृति संरक्षण एवं पहुँचमा सशक्त बनाउन सफल ज्ञवालीले चिडियाखानाको आधुनिकीकरण गरिन्। उनी श्रीलंकामा सम्पन्न साउथ एसियन जु एसोसियसनको सम्मलेनबाट दक्षिण एसियाली अध्यक्ष चुनिन सफल भइन्।

सलोनी सिंह

जन्मस्थान : काठमाडौं ,शिक्षा : स्नातकोत्तर,पेसा : अर्थशास्त्री तथा समाजसेवी।

नेपाली महिलालाई आर्थिक रूपमा सशक्त तुल्याउनुपर्छ भनी नयाँ बहसको थालनी गर्ने सिंह यस कार्यकी अगुवा हुन्। दिदी-बहिनी संस्थामार्फत देशका विभिन्न जिल्लामा महिला सशक्तिकरण अभियानमा कार्यरत सिंहले आफ्नो जीवन समाजसेवामा अर्पण गरेकी छिन्।

ज्ञानीशोभा तुलाधर

जन्मस्थान : काठमाडौं ,शिक्षा : स्नातक,पेसा : फेसन डिजाइनिङ

ज्ञानीशोभा टेलरिङ पेसालाई नयाँ स्वरूप दिँदै नेपालमा फेसन डिजाइनिङ तथा त्यसको एकेडेमिक अध्ययन स्थापित गर्न सफल व्यक्तित्व हुन्। फेसन डिजाइनिङलाई सम्मानित पेसाका रूपमा समाजमा स्थापित गराई थुपै्र मानिसलाई रोजगार प्रदान गर्ने काममा दत्तचित्त तुलाधर सकारात्मक सोचद्वारा संसार बदल्न सकिन्छ भन्ने सिद्धान्तकी अनुयायी हुन्।

वन्दना राणा

जन्मस्थान : ललितपुर,पेसा : अधिकारकर्मी

सञ्चारिका समूह नेपालकी संस्थापक तथा पूर्व अध्यक्ष वन्दना हाल साथी संस्थाकी उपाध्यक्षका रूपमा कार्यरत छिन्। पत्रकार महिलाको हक-हित एवं अधिकारका लागि कार्यरत राणा महिलामाथि हुने विविध प्रकारका हिंसा अन्त्य गर्ने विभिन्न अभियानमा नेतृत्वदायी भूमिका खेल्छिन्। समाचारवाचिकाका रूपमा करियर अघि बढाएकी आकर्षक व्यक्तित्वकी धनी अनि फरासिली वन्दनाले धेरैको मन जितेकी छिन्।

चित्रलेखा यादव

जन्मस्थान : सिरहा ,शिक्षा : स्नातकोत्तर,पेसा : राजनीति

पूर्व उप-सभामुख चित्रलेखा महिलालाई बाहिर निस्कन नदिने मधेसी समुदायको कट्टर परम्परालाई चिर्दै राजनीतिमा अग्रपंक्तिमा रहेकी महिला हुन्। प्रथम मधेसी महिला उप-सभामुख यादवको कांग्रेसमा पृथक् स्थान छ। उनले आफ्नो पार्टी तथा महिलाको क्षेत्रमा दिएको योगदान प्रशंसनीय छ।

डा अरुणा उप्रेती

शिक्षा : एमबीबीएस ,पेसा : चिकित्सा

पश्चिम नेपालका दुर्गम क्षेत्रमा स्त्रीरोगका विषयमा जनचेतना जगाउने काममा खटिरहेकी अरुणाले स्त्रीरोगको उपचारमा उच्च योगदान दिएकी छिन्। महिलाहरूको उपचार गरेर समाजसेवामा लागेकी डा उप्रेतीले महिलाहरूका लागि विभिन्न उपयोगी पुस्तक पनि प्रकाशित गरेकी छिन्। त्यसबाहेक उनी सफल लेखिका पनि हुन्।

रामकुमारी झाँक्री

जन्मस्थान : गुल्मी ,शिक्षा : स्नातकोत्तर,पेसा : राजनीति

युवा नेतृ रामकुमारी राष्ट्र निर्माणको मुख्य खम्बा राजनीति भन्ने आधारलाई स्वीकार गर्दै युवावर्ग राजनीतिमा आउनुपर्छ भन्ने अभियानकर्ता हुन्। आफ्नो युवावस्था देशको नाममा चढाउने एक उत्कृष्ट महिला योद्धा हुन् उनी। झाँक्री वाककलामा प्रवीण छिन् । ठूलो संघर्षले गर्दा नै उनी एक सफल राजनीतिज्ञ बनेकी हुन्।

मोहम्मदी सिद्धिकी

जन्मस्थान : बाँके ,शिक्षा : स्नातकोत्तर,पेसा : समाजसेवा

मुस्लिम समुदायमा जन्मिएर आफूलाई उच्च स्थानमा पुर्‍याउन सफल मोहम्मदीको प्रमुख विशेषता परिश्रम तथा धैर्य हो। फतिमा फाउन्डेसनकी अध्यक्ष सिद्धिकीले वडाध्यक्षदेखि सभासदसम्मको हैसियतले काम गरेकी छिन्। उनी महिला विरोधी हरेक कुरीति तथा विभेदको अन्त्य हुनुपर्छ भन्ने कुरामा लागिपरेकी छिन्।

लिली थापा

जन्मस्थान : काठमाडांै ,शिक्षा : स्नातकोत्तर,पेसा : अधिकारकर्मी

लिली मानव अधिकारका लागि महिला, एकल महिला समूह -डब्ल्युएचआर) की संस्थापक अध्यक्ष हुन्। एकल महिला अभियानकी अगुवा थापा नेपालमा एकल महिलाको अधिकार, सशक्तिकरण एवं सीप विकासका क्षेत्रमा लामो समयदेखि कार्यरत छिन्। आफै एकल भए पनि व्यक्तिगत जीवनको परवाह नगरी उनले एकल महिलाहरूको समस्या समाधानमा आफूलाई समर्पित गरेकी छिन्।

शैलजा अधिकारी

जन्मस्थान : काठमाडौं ,शिक्षा : एमबीए,पेसा : व्यापार

कुनै बेला बैंककी जागिरे शैलजाको परिश्रमले उनलाई नेपाली फेसन जगत्को एक स्थापित व्यवसायी बनायो। आइइसी कलेज स्थापना गरेर उनले नेपालम फेसन तथा इन्टेरियरमा करियर बनाउन चाहनेहरूलाई प्लेटर्फम दिइन्। हाल आएर युरो किड्स नामक भारतीय चेन पि्रस्कुलको शिक्षा सुरु गरेकी अधिकारीले स्कुलका तर्फबाट एक्सेलेन्सी अवार्ड हात पारिन्। कामप्रतिको निरन्तरता तथा परिश्रम शैलजाको प्रमुख विशेषता हो।

लक्ष्मी शर्मा

जन्मस्थान : काठमाडौं ,पेसा : व्यवसाय

प्रथम नेपाली महिला टेम्पो चालक लक्ष्मी शर्माले जीवनमा धेरै दु:ख गरिन्। उनी टेम्पो चलाउँदा-चलाउँदै गाई, भैंसीका हड्डी ओसार-प्रसार गर्न पुगिन्। त्यसपछि उनले लक्ष्मी उड क्राफ्ट खोलिन् जहाँ उनले टाँकको व्यवसाय गर्न थालिन्। व्यवसाय फस्टाउँदै गएपछि उनले अन्तर्राष्ट्रिय जगत्मा समेत ख्याति पाइन्। सानो परिमाणमा काम थालेकी शर्मा अहिले नेपाल उड क्राफ्टको नाममा हड्डीबाट निर्मित ह्यान्डी क्राफ्ट उत्पादन गर्दैछिन्।

शान्ति महतो

जन्मस्थान : धनुषा,शिक्षा : आईए,पेसा : महिला अधिकारकर्मी

शान्ति मधेसी महिला समूहकी अध्यक्ष भएर आफ्नो संस्थामार्फत महिलाहरूलाई सचेत बनाउँदै छिन्। अहिले उनको संस्थामा थुप्रै मधेसी महिला सदस्य छन् भने मधेसी महिलाहरूले सक्रिय रूपमा हक-अधिकारका लागि लड्न र आवाज उठाउनमा उनको ठूलो भूमिका छ। पुरुषले गर्ने काम महिलाले पनि गर्न सक्छन् भनेर अघि बढ्ने महतो वुमन एक्टकी सक्रिय सदस्य पनि हुन्।

अम्बिका श्रेष्ठ

पेसा : उद्यम

नेपालकै उत्कृष्ट होटल व्यवसायीहरूमा आफ्नो नाम लेखाउन सफल अम्बिका श्रेष्ठको कामप्रतिको रुचि प्रशंसनीय छ। उनी आफ्नो होटलको व्यवस्थापन चुस्त राख्न हरपल प्रयासरस हुन्छिन्। उनी होटल द्वारिकाजकी निर्देशक हुन्। सानो आकारको व्यवसायलाई विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सफल उद्यमी श्रेष्ठ अहिले त्यही होटलमार्फत अन्तर्राष्ट्रिय रूपमै परिचित छिन्।

प्रमिला रिजाल

जन्मस्थान : सुनसरी ,शिक्षा : स्नातकोत्तर,पेसा : व्यापार

प्रभावशाली एवं आकर्षक व्यक्तित्व उनको चिनारी हो। उनको स्पष्टवादी व्यवहारले सबैलाई आकषिर्त गर्छ। हाँसिरहने स्वभाव तथा सकारात्मक सोच उनीसँग भएको सबैभन्दा ठूलो पुँजी हो। २० वर्षअघि आफ्नो व्यवसायबाट करियर सुरु गरेकी रिजाल विनको अध्यक्ष बन्दै अहिले महिला सार्क चेम्बरको नेतृत्वमा छिन्।

पूर्णकुमारी सुवेदी

संविधान सभाकी उप-सभामुख पूर्णकुमारी सुवेदी नेपाली नारी वर्गकी प्रेरणा हुन्। गाउँ-गाउँमा आयोजित जनचेतना कार्यक्रमको अगुवाइ गरेकी सुवेदीको कार्य प्रशंसायोग्य छ। यही कार्यले गर्दा उनी आज उप-सभामुख जस्तो गरिमामय पदमा छिन्। उनले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरिरहेकी छिन्।

मञ्जु थापा

जन्मस्थान : गुल्मी,शिक्षा : स्नातकोत्तर,पेसा : संचारकर्मी

आमाको प्रेरणाले बाल्यकालदेखि नै राजनीतिक क्षेत्रमा समर्पित मञ्जु थापा संचार क्षेत्रमा परिचित छिन्। ‘अस्मिता’ पत्रिकाकी सम्पादक मञ्जुका विभिन्न पत्र-पत्रिकामा लेखहरू प्रकाशित हुँदै आएका छन्। थुपै्र लेखका अतिरिक्त उनका संचार निगरानी, छापामा महिला प्रश्न, महिला, शान्ति र पुनर्संरचना, महिला र मिडिया, नेपाली महिलाहरूमा टेलिभिजनको प्रभाव, चेलिबेटी बेचबिखनविरुद्ध संचार सक्रियता -पुस्तकाकार अनुसन्धान प्रतिवेदनमा सह-लेखन) आदिका साथै ‘जीवन संघर्षका पलहरू’ प्रकाशित छन्।

कमला उपे्रती

जन्मस्थान : पाँचथर ,शिक्षा : स्नातकोत्तर,पेसा : प्रशिक्षक प्रशिक्षण तथा समाजसेवा

१९ वर्षदेखि निरन्तर सामाजिक संस्थामार्फत विविध खालका हिंसाविरुद्ध महिला तथा बालबालिकाका लागि कार्यरत कमला उप्रेती १९ वर्षअघि स्थापना भएको महिला आधारशिलाकी संस्थापक हुन्। संस्थामार्फत उनले महिला तथा बालबालिकाका क्षेत्रमा धेरै काम गरेकी छिन्। कमला १० जिल्लामा महिलाका लागि आय आर्जन र सीपमूलक तालिम दिएर महिला उद्यमी उत्पादन गर्न सफल बनेकी छिन्। उनको संस्थाले महिलाहरूलाई सीपमूलक तालिम दिनुका साथै महिलाहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने काम गर्छ।

सावित्रा मरासिनी

जन्मस्थान : अर्घाखाँची,शिक्षा : स्नातकोत्तर,पेसा : शिक्षण एवं समाजसेवा

बाल्यकालदेखि नै समाजसेवाप्रति रुचि भएकी सावित्रा मरासिनी प्रतिभाशाली विद्यार्थीका रूपमा परिचित थिइन्। सादा जीवन एवं उच्च विचारकी धनी मरासिनी वर्तमान समयमा युवा-युवतीहरू अनुशानहीन बन्दै गएकामा चिन्ता प्रकट गर्दै अब सबै अनुशासित, मर्यादित एवं लगलशील भएर अध्ययन गरी भविष्यमा राष्ट्रसेवकका रूपमा अघि बढ्नुपर्ने धारणा राख्छिन्। मरासिनी गाउँमा सामुदायिक विद्यालयमा पढेर आएका विद्यार्थीहरूलाई सहरमा निजी बोर्डिङमा पढेका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न केही कठिन हुने बताउँछिन्।

रिन्छेन योञ्जन

जन्मस्थान : भारत,शिक्षा : सिनियर क्याम्बि्रज,पेसा : सोसियल आर्किटेक्ट

भिक्टोरिया क्रस पदकबाट सम्मानित गञ्जु लामा तथा स्कुल शिक्षिका पद्मा डोल्माकी छोरी रिन्छेनले फरक क्षेत्रमा थुप्रै नेतृत्वदायी जनशक्ति जन्माइन्। किन्डर गार्टेन शिक्षिकाका रूपमा करियर सुरु गरेकी उनले एड्भेन्चर टुरिज्मदेखि महिलालाई आर्थिक रूपमा सशक्त बनाउनेसम्मका विविध क्षेत्रमा लागेर क्षमता दर्साइन्। बहुप्रतिभाशाली योञ्जन माइक्रोफाइनान्सको सिर्जनाकार, चोइसेस फर टुमरोज वुमन -१९९१) नामक पृथक् शैलीको कार्यशालाकी आयोजक, समग्र पुष्प व्यवसायीकरणकी सूत्रधार, रेडियो नेपालको अंग्रेजी समाचार वाचिका, बालबालिकाका लागि सिर्जनात्मक शिक्षामा जोड दिने शिक्षाविद्, वातावरण, महिला स्वास्थ्यलगायतका विषयमा थुप्रै रेडियो कार्यक्रमकी संचालक उनी हाल ल्यान्डस्केपिङ र संस्कृति क्षेत्र -संगीत, फिल्म, नाटक, फोटोग्राफी, पेन्टिङ) मार्फत सामाजिक योगदान एवं सचेतनामा व्यस्त छिन्।

रीता थापा

जन्मस्थान : ललितपुर ,शिक्षा : स्नातकोत्तर ,पेसा : समाजसेवा

अमेरिकाको आकर्षक जागिर छोडेर नेपालमै सेवा गर्ने उद्देश्यले टेवा संस्थाको सुरुवात गरेकी रीताले सामाजिक सेवामा ४२ वर्ष काम गरिसकेकी छिन्। १ रुपैंयाँ उठाउने अभियानमार्फत सयौं महिलालाई आर्थिक रूपमा सशक्त बनाउन सफल रीता थापा विशेष गरी द्वन्द्वका कारण विस्थापित भई कामको खोजीमा सहर पसेको युवा समूहलाई सीप तथा आयमूलक कार्यक्रम दिन सक्षम भइन्। अहिले पनि उनको परिकल्पनामा साकार भएको खाना ख्वाउने कार्यक्रममा खानावाट वञ्चित सयौंलाई हप्तामा एकपटक दाल, भात एवं तरकारी पस्किइन्छ। विभिन्न व्यक्तिको व्यक्तिगत सहयोगमा संचालन भैरहेको उनको नेतृत्वमा रहेको टेवाले महिलालाई अर्थिक रूपमा सशक्त बनाउने कार्यका अतिरिक्त महिला अधिकारको समेत वकालत गर्छ।

पार्वती शर्मा

जन्मस्थान : धनुषा,अध्ययन : स्नातकोत्तर,पेसा : निजामती सेवा

पार्वतीले नारी कम छैनन् भन्ने कुरा पुष्टि गरिसकेकी छिन्। निजामती सेवा प्रारम्भ भएको ५० वर्षको अन्तरालमा उनी पहिलो पटक महिला सर्वोकृष्ट भएकी छिन्। उनको धैर्य, लगनशीलता एवं परिश्रमले उनलाई सधै अब्बल बनायो। शालीन स्वभावकी पार्वतीले समयअनुसार चल्न जानेकी छिन्।

विमला थापा

जन्मस्थान : नुवाकोट ,शिक्षा : स्नातकोत्तर,पेसा : सुरक्षा सेवा

पुरुषको बाहुल्य रहेको नेपाल प्रहरीमा उच्च पदस्थ अधिकृत तहमा पुग्न सफल हक्की महिला अधिकृत थापाले प्रहरी मुख्यालय, वीरगंजलगायतका भन्सार र एअरपोर्टजस्ता जोखिम तथा ट्रान्जिट क्षेत्रमा समेत आफ्नो कार्यदक्षता देखाइसकेकी छिन्। निडर स्वभाव, प्रभावशाली व्यक्तित्व एवं कडा परिश्रम उनका विशेषता हुन्। प्रहरीभित्रका विविध अप्ठ्याराहरूलाई चिर्दै नेपाल प्रहरीको एआइजीजस्तो गरिमामय पदमा पुग्नु नेपाली महिलाका लागि सानो उपलब्धि होइन।

From: Nari

This entry was posted in Nepali and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *